गंगातटको साधना – स्वामी आनन्द अरुण

उत्तराखण्डमा मैले भेटेको अर्की श्रद्धेय साधिका पनि गुजरात कै हुन्। उनी हुन् – मा आनन्द मधु जो विगत ३३ वर्षदेखि गंगातटमा एकान्त गहन साधनमा लीन छिन्। यी वर्षहरू मध्ये १५ वर्ष उनी ऋषिकेशको मायाकुण्डको गंगातटमा मौन बसिन् र आत्मोपलब्धि गरिसकेपछि मात्र मौन खोलिन्। त्यस पन्ध्र वर्षको मौन साधना मध्ये पनि ४ वर्ष उनले काष्ट मौनको कठिन तपस्या गरिन्। काष्ट मौनको अर्थ हो साधक काठजस्तै स्थिर, शान्त हुन्छ र जगतसँग उसले सारा सम्बन्ध विच्छेद गर्छ। न पढ्छ, न लेख्छ, कसैलाई भेट्छ, एउटा कोठा वा गुफाबाट बाहिर निस्किदैन। काष्ट मौनको यस्तो कडा साधनाका ५ वर्ष उनले गंगाजीबाहेक अरू कसैलाई हेरिनन्। साधनाका बेला बिहान गँहुको दलिया र बेलुका गाईको दुध उनको भोजन थियो।

मा आनन्द मधु गुजरातको प्रतिष्ठित गान्धीवादी परिवारमा जन्मेकी हुन्। भारतका प्रसिद्ध गान्धीवादी नेता तथा भूतपूर्व प्रधानमन्त्री श्री मोरारीजी देसाई उनका काका पर्छन् र उनका पति बाबुभाई गुजरात कंग्रेसका एक प्रसिद्ध नेता र सांसद थिए। मा मुध गुजरातको आजोलमा अवस्थित महिला गान्धीवादी कलेजकी प्रिन्सिपल थिइन्। त्यही बेला उनको भेट गुजरातमा प्रवचन दिन आएका आचार्य रजनीशसँग भयो। प्रथम भेट मैं पूर्वको साधनाको संस्कारले उनी आचार्यप्रति अगाध श्रद्धा र
प्रेमले आर्कषित भइन् र पछि दुबै पति–पत्नि आचार्यकै कार्यमा समर्पित भए। आचार्य रजनीशले सन् १९७० को सेम्टेम्बरमा हिमालयको मनालीमा भएको साधना शिविरमा प्रथम पटक दीक्षा दिन प्रारम्भ गरे र यही शिविरमा उने भने, 'बुद्ध, महावीर र शंकाराचार्यले स्त्रीहरूलाई दीक्षा दिन पटक्कै मानेका थिएनन्। तर बुद्ध भने दीक्षा दिन बाध्य भए। उनकी सानीआमा महामाया शुद्धोधनको मृत्युपछि केश मुण्डन गरी हिडेरै कपिलवस्तुबाट वैशाली पुगिन। बुद्धसँग उनले दीक्षाको जोडदार आग्रह गरिन साथै भिक्षु आनन्दले पनि अन्यन्त जिद्दि गरेपछि बुद्धले अस्विकार गर्न नसकी अनमनस भावले स्त्रीहरूलाई संघमा प्रवेश दिनुपरेको थियो। बुद्धलाई संघमा भएको स्त्रीको प्रवेश कतिसम्म मन परेको थिएन यो उनको यस कथनबाट प्रस्ट हुन्छ – मेरो धर्म २५०० वर्ष चल्थ्यो तर संघमा स्त्रीहरूको प्रवेशपछि यो अब ५ सय वर्ष मात्रै चल्ने छ।'

बुद्धको यो अनकनाहटसँग ओशोको गहिरो असहमति छ। ओशो भन्नुहुन्छ, 'आधा मनुष्यतालाई संघबाट बन्चित गरी धर्मलाई किन २५ सय वर्ष चलाउनु पर्‍यो।' ओशोको धारणा यो छ कि बरु धर्म कमै वर्ष चलोस् तर यसले सबैलाई समेटोस्। धर्म कुनै निजी व्यवसाय र वंशावली त होइन जसलाई लामो समयसम्म चलाइ राख्नु परोस्। फेरी अर्को नयाँ बुद्धपुरुष आउँछ उसले त्यस समय अनुसारको नयाँ धर्म ल्याउँछ। त्यसकारण ओशोले जब दीक्षा शुरु गरे उनले पहिलो दीक्षा स्त्रीलाई नै दिए। यो बुद्ध, महावीर, शंकराचार्यले स्त्री जातिलाई गरेको अपहेलनाको ओशाद्वारा आफ्नै ढंगको प्रतिउत्तर थियो। त्यो दीक्षा पाउने प्रथम ती भाग्यशाली महिला मा आनन्द मधु नै थिइन्। आजपनि अधिकांश देशमा स्त्रीलाई स्वतन्त्रताको त्यो आकाश अहिलेसम्म पनि उपलब्ध हुन सकेको छैन जुन पाश्चात्य जगतमा छ। युरोपेली मुलुकमा ओशो शिविरमा भाग लिने र दीक्षा लिने स्त्रीको अनुपात पुरुषको भन्दा झण्डै दोब्बर हुन्छ र युरोपका अधिकांश ओशोका आश्रम र केन्द्रहरू स्त्रीद्वारा संचालित छन्। स्त्री जातिलाई ओशोले जति प्रतिष्ठा र सम्मान अरु कुनै गुरुले दिन सकेका छैनन्।

मा मधुका पतिलाई पनि दीक्षा लिने इच्छा थियो तर पत्नीले पहिल्यै दीक्षा लिएकी हुनाले पत्नीपछि दीक्षा लिन उनको पुरुष अहंकारले मानेन। मा मधुले ओशोबाट दीक्षा लिएकीले मोरारीजी देसाई ओशो विरोधी हुन गएको एक कारण हुनगयो। दीक्षापछि मा मधुले आफूले संचालित गरेको कलेज कै नजिक गुजरातमा पहिलो ओशो आश्रमको स्थापना गरिन् जसको नाम थियो – रजनीश संस्कार तीर्थ। त्यसपछि उनले कलेजको प्रतिष्ठित जागीरबाट राजिनामा दिइन् र भारतवर्षभरी कीर्तन
मण्डली लिई घुमीघुमी ओशो दर्शन र साहित्यको प्रचार प्रसारमा लागिन्। सन् १९७४ मा जब पुना आश्रमको स्थापना भयो ओशो उनलाई अमेरिकामा आफ्नो कार्य विस्तारको लागि पठाउन चाहान्थे । तर मा मधुले हिमालयमा कही गंगाको किनारमा गएर मौन साधना गर्ने आफ्नो इच्छा बताइन्। ओशोले उनको यस्तो इच्छा देखी अन्ततः स्वीकृति प्रदान गरे। ओशोले भने – तिम्रो गंगा र हिमालयसँग गहिरो सम्बन्ध छ। त्यही क्षेत्रमा तिम्रो साधना फस्टाउँछ।' आर्शीवाद सहित आफ्नो ओढ्ने
सल दिई ओशोले भने, 'त्यहाँको एकान्तमा तिमीले आफूलाई कहिल्यै एक्लो नठान्नु। जब मेरो जरुरत महसुस हुन्छ यो सल ओढोर मलाई याद गर्नु। मेरो उपस्थिति र उर्जा तिमीले महसुस गर्नेछौ।'

गुरुको त्यही वचनलाई आफ्नो आलम्बन मानी विगत ३३ वर्षदेखि ऋषिकेशको त्यो गंगातटमा उनी एक्लै साधनारत छिन्। एउटा साधकले अन्तरसाधनाबाट उपलब्ध गर्ने सर्वोच्च उपलब्धी निर्विकल्प समाधि या परमात्मा साक्षात्कार उनले १५ वर्षको मौन र एकान्तमा प्राप्त गरिसकेकी छन्। धेरै वर्ष मौन र एकान्तमा बिताएकीले अहिलेपनि उनी धेरै मानिससँग भेट्न र बोल्न मन पराउदिनन्। तर उनलाई खोज्दै आइपुगेका मुमुक्षलाई अपरान्ह ४ देखि ५ बजेको समयमा भेटछिन् र यथोचित
सत्कार र प्रेम दिन्छिन्। यी शब्दहरू यहाँ लेख्न जति सहज छन्, एक प्रतिष्ठित परिवारबाट आएकी शिक्षित महिलाका लागि गंगाजीको सन्निध्य र ओशोको भरमा सारा सुविधा छोडेर एक्लै ३३ वर्षको लामो समयसम्म साधनामा होमिनु शायद त्यति सजिलो नहोला।

मितिः २०६४.०५.०३