Sw Anand Arun Interview by Nagarik News डिस्टर्ब्ड मनले परिवर्तन खोज्छ : स्वामी आनन्द अरुण

Sw Anand Arun Interview by Nagarik News डिस्टर्ब्ड मनले परिवर्तन खोज्छ : स्वामी आनन्द अरुण

काठमाडौँको नागार्जुन डाँडामा अवस्थित ओशो तपोवन इन्टरनेसनल कम्युनका संस्थापक हुन्, स्वामी आनन्द अरुण। विदेशमा मात्रै उनका हालसम्म ७५ वटा मेडिटेसन सेन्टर सञ्चालित छन्। ओशोका अनुयायी स्वामी अरुण आफूले लाखौँ व्यक्तिलाई दीक्षा दिइसकेको बताउँछन्। ‘अन्तर्यात्रा’, ‘सन्त दर्शन’, ‘सन्त गाथा’ जस्ता किताब पनि लेखेका छन् उनले। उनीसँग सजना बरालको संवादः

तपाईंलाई ‘आध्यात्मिक सेलिब्रिटी’ भनियो भने…
म सेलिब्रिटी होइन। सिम्पल मान्छे हुँ। जंगलमा बस्छु। मिडियाले अलिअलि पपुलर बनाइदिएको छ। खासमा म अध्यात्मको विद्यार्थी हुँ। ओशोको शिष्य हुँ। र, योगी हुँ।

योगी कि स्वामी ?
दुवै। जसले योग गर्छ, उसलाई योगी भनिन्छ। परमात्मासँग योग गर्न खोज्नेहरू योगी हुन्। सन्न्यासी, स्वामी भनेको चाहिँ सत्यलाई खोज्ने व्यक्ति हो। हामीकहाँ महिलालाई ‘मा’ र दीक्षित पुरुषलाई ‘स्वामी’ भन्ने चलन छ।

महिलालाई ‘मा’ भनेपछि पुरुषलाई ‘बा’ भने हुन्थ्यो नि। तपाईंहरूलाई स्वामी भनेर बोलाउँदा महिलालाई अप्ठ्यारो नपर्ला ?
पर्दैन। आदर गरेर भनिएको शब्द हो स्वामी। हिन्दूले स्वामी भनेझैँ बौद्धमार्गीले भन्ते, भिक्षु भन्छन्। शब्दमात्रै फरक हुन्, सबैको अर्थ एउटै छ– आफ्नै मनको मालिक बन्नु। बा पनि भन्छन् कतिपयले। गुरुबा भन्छन्। आदरले त जे पनि भन्न सकिन्छ। तर, ओशोले भन्नुभएको थियो, ‘स्त्रीको सबैभन्दा आदरणीय स्वरूप माता स्वरूप हो। त्यसैले उनलाई ‘मा’ भन। पुरुषलाई चाहिँ उसलाई आफ्नै वृत्तिको मालिक बन्न सिकाउनका लागि स्वामी भन।’ हामीले गुरुले अह्राएबमोजिमै मा र स्वामी भन्दै आएका छौँ।

अध्यात्ममा यस्तो अभिरुचि भएको मान्छे ! के सोचेर इन्जिनियरिङ पढ्नुभएको थियो ?
हाम्रो पालामा इन्जिनियरिङ भनेको टन्न पैसा कमाउन सकिने, पक्की घर बनाउन सकिने, आकर्षक विषय/पेशा थियो। मेरा अभिभावकले पनि त्यही देखेर मलाई पटना युनिभर्सिटीमा इन्जिनियरिङ पढ्न पठाउनुभयो। तर, मलाई यो विषयमा कुनै रुचि थिएन। दर्शन वा मनोविज्ञान पढ्ने रहर थियो। करकापमा इन्जिनियरिङ पढेँ। कोर्सबुकभन्दा धेरै धर्म र दर्शनका किताब पढ्थेँ। किताब त मैले कति पढेँ कति ! अहिलेसम्म ५० हजारजति किताब पढिसकेँ होला। गुरुहरू खोज्दै आश्रम, आश्रम चहार्थें त्यो बेला। ‘यो जोगी हुने भयो’ भनेर आफन्तहरू निकै डराउँथे।

कतिवटा जति आश्रम चहार्नुभयो ?
त्यो बेला उत्तर भारतमा भएजति सबै आश्रम पुगेँ। कुनै पनि जोगीको नाम सुन्यो कि दौडिहाल्थेँ। थुपै्र जोगीका प्रवचन सुनेँ। त्यतिखेर एकदमै बेचैनी हुन्थ्यो मलाई। अहिले पनि बाहिरफेर निस्कियो भने त्यस्तै हुन्छ। त्यहीँ पर्तिर, काठमाडौँ जाँदासमेत कहिले आश्रम फर्किऊँजस्तो लाग्छ। अत्यावश्यक काम परेमात्रै त्यता जान्छु। ठूलो शहर र बजारमा बस्नै सक्दिनँ।

विदेश त खूब जानुहुन्छ। त्यहाँ चाहिँ केही हुँदैन ?
ओशोका विचारहरू प्रचार गर्न विदेश जान्छु। विभिन्न २० वटा देशमा हाम्रा आश्रम खुलेका छन्। तिनलाई हेर्न र त्यहाँका मान्छेलाई उत्साहित गर्न विदेश जानैपर्छ। तर, त्यहाँ पनि मलाई बेचैनी हुन्छ। जतिसुकै सुविधासम्पन्न होटलमा बसे पनि मन आनन्दित हुँदैन। आश्रममा पुगेपछि चाहिँ ढुक्क भइहाल्छु। बद्रीनाथ, केदारनाथ, पशुपतिनाथको छेउछाउ पुग्दा पनि मेरो बेचैनी हराउँछ। अंग्रेजीमा ‘बुद्धफिल्ड’ भन्छन् नि– हाम्रा लागि आश्रम र धार्मिक स्थलहरू बुद्धफिल्ड (ऊर्जाक्षेत्र) हुन्।

जहिले पनि एउटै खालको ड्रेसअप गर्नुहुन्छ। ऐना हेर्दा आफैँलाई देखेर पट्यार लाग्दैन ?
४५ वर्ष भयो, यस्तो लुगा लाउन थालेको। मोजादेखि टोपीसम्म रातो रङको लाउँछु। अरू रङमा आँखै जाँदैन। मेरो खानकी पनि तीसौँ वर्षदेखि एउटै छ– राति जाउलो, दिउँसो रोटी, बिहान उसिनेको चामलको भात र कहिलेकाहीँ स्म्यास्ड पोट्याटो। मलाई यसमै सुख छ। कुनै परिवर्तन चाहिएको छैन। डिस्टर्ब्ड मनले मात्रै परिवर्तन खोज्छ। मन स्थिर छैन भने मान्छेलाई अनेक चिज गर्न मन लाग्छ। नयाँ–नयाँ लुगा लाउनु, नयाँ–नयाँ ठाउँमा जानु, थरिथरिका खाना खानुु चञ्चल मनका लक्षण हुन्।

नयाँ ठाउँमा जानु त राम्रो हो। नयाँ कुरा सिक्न पाइन्छ। होइन र ?
हो। तर, अहिले इमेल, इन्टरनेटको जमानामा घरमै बसेर पनि दुनियाँ डुल्न सकिन्छ। फिल्डमा गएर सिक्नुको मजा अर्कै हुन्छ भन्नुहोला फेरि। तर, कुरा सिक्नुमा होइन, ‘मन’ मा अडिएको छ। मान्छेको मन शान्त छैन भने नै ऊ घुम्न वा नयाँ चिज जान्न रौसिने हो। त्यस्तो मान्छेलाई जान्न चाहेको कुरा जानिसकेपछि पनि तृप्ति मिल्दैन। स्वको ज्ञान भएपछि मात्रै शान्त भएर बस्न सकिन्छ। त्यसैले मान्छलाई आफ्नोबारे जानकारी हुनुपर्छ।

फेसबुक धेरै चलाउनुहुन्छ क्यारे। अपडेट गरिरहनुहुन्छ।
इमेल, इन्टरनेट चलाउँछु। तर, फेसबुक त्यति चलाउँदिनँ। मेरा सहयोगीहरूले अपडेट गरिदिन्छन्। म बरु भाइबर बढी चलाउँछु। मेरा कमजोरी चाहिँ पत्रपत्रिका हुन्। नेपाली, हिन्दी, अंग्रेजी भाषाका पत्रिका पढ्छु। यी पढेर मलाई खासै फाइदा हुँदैन भन्ने थाहा छ। तर, लत छुटाउन सकिरहेको छैन।

तपाईंले निकालेका पञ्चशीलमध्ये, शुद्धि एउटा हो। मान्छेको लवाइ, खुवाइ सबै शुद्ध हुनुपर्छ भन्नुभएको छ। अहिले सबैथोकमा मिसावट छ। तपाईंका अनुयायीलाई शुद्ध हुन धौधौ पर्ला नि ?
प्रयास गर्‍यो भने धेरै हदसम्म शुद्ध हुन सकिन्छ। यसका लागि सर्वप्रथम, मान्छे शाकाहारी हुनुपर्‍यो। अहिले बजारमा पाइने सबैभन्दा अशुद्ध भोजन मासु हो। सडेगलेको, बासी र रोगी जनावरको मासु बेचिन्छन्। यसले आन्द्राको क्यान्सर गराउँछ। धूम्रपान र मादकपदार्थभन्दा पनि घातक कुरा हो मासु। साथै, घरबाहिरका खानेकुरा पनि यथासक्य नखाएको राम्रो। घरको खानकी सबैभन्दा उत्तम हुन्छ। भनाइको सार के हो भने मान्छेले जिब्रोलाई अनुशासित बनाउन सक्यो भने धेरै हदसम्म शुद्ध हुन सकिन्छ।

आशाराम, रामपालजस्ता बाबाबारे सुनिरहनुभएकै होला। बाबाजीहरू किन यस्ता ढोँगी हुन्छन् ?
अनुशासन नभएर। उनीहरूको आफ्नै जिन्दगी अनुशासित हुँदैन। हठयोग ठीक कुरा होइन। मान्छेका केही स्वाभाविक वृत्ति हुन्छन्। ती स्वाभाविक वृत्तिलाई अस्वाभाविक बनाउन खोज्यो भने दुर्घटना हुन्छ। कामवृत्तिलाई बलजफती दबायो भने विष्फोट भइदिन्छ। अमेरिका जाने अधिकांश बाबाहरू सेक्स स्क्यान्डलमा फस्छन्। किन ? किनभने अमेरिकामा उनीहरू स्वतन्त्र महसुस गर्छन्। ‘यहाँ देख्नेवाला कोही छैन, जे गरे पनि कसैले माइन्ड गर्दैन’ भन्ठान्छन्। तर, होइन। अमेरिकनहरू त झन् धेरै चासो दिने खालका हुन्छन्। सानो कुरालाई ठूलो बनाउने प्रवत्तिका हुन्छन्। त्यसकारण योगीहरू त्यहाँ रंगेहात समातिन्छन्। अप्राकृतिक यौन जीवन बाँच्न खोज्दाका परिणाम हुन् यस्ता घटना।

तपाईं पनि योगी नै हो। यस्ता घटनाले कत्तिको असर गर्छ ?
हामीले सुरुदेखि नै अस्वाभाविक कुरा गरेनौँ। हामीले हामी ब्रह्मचारी हौँ भनेर कहिल्यै भनेनौँ। कसैलाई ब्रह्मचारी बन्न सिकाएनौँ पनि। त्यसकारण हामीलाई यस्ता घटनाले खासै असर गर्दैनन्। तर, धर्म वा अध्यात्मप्रति मान्छेको आस्थालाई चाहिँ हल्लाइदिन्छन्। ‘सबै जोगीहरू उस्तै हुँदा रै’छन्’ भन्ने आम धारणा बलियो हुन थाल्छ।

यसको समाधान चाहिँ मान्छे यौनका मामिलामा उदार हुनुपर्छ भन्ने हो ?
यौनमात्रै होइन, सबै विषयमा उदार हुनुपर्छ मान्छे। स्वाभाविक हुनुपर्छ। हाम्रा धर्म गुरुहरूले हजारौँ वर्षअघि नै भनेका थिए, ‘मनुष्यका दुइटा कमजोरी छन्– काम र प्रलोभन अर्थात् ‘सेक्स एन्ड मनी’। त्यो बेलादेखि अहिलेसम्म जति पनि ‘स्क्यान्डल’ भइरहेका छन्, यिनकै कारण भइरहेका छन्। यी चिजबाट मान्छे कदापि मुक्त हुन सक्दैन। मुक्त हुन जरुरी पनि छैन। तर, संयमित हुन सकिन्छ। संयमित हुन धेरै गाह्रो छ फेरि। उपवास बस्नुभन्दा संयमित भोजन गर्न कठिन छ। त्यसकारण, समस्या हुन्छ। म मान्छेलाई स्वाभाविक र संयमित हुन सिकाउने प्रयास गर्छु।

अरूलाई धेरै अर्ती–उपदेश दिनुहुन्छ। दिएकामध्ये कति कुरा आफूमा लागू गर्नुहुन्छ ?
अरूलाई भन्न सजिलो छ, गर्न गाह्रो ! म पनि सबै कुरा शतप्रतिशत लागू गर्न सक्दिनँ। ९० देखि ९५ प्रतिशत चाहिँ लागू गर्छु। पाँच प्रतिशत गर्न सकिरहेको छैन। तर, प्रयास गरिरहेको छु। साधना भनेको एक दिनमै गरिसक्ने कुरा होइन। समय लाग्छ। तर, बारम्बार प्रयास गरिरहनुपर्छ। सिकाएका कुराहरू जोगीहरू आफैँ गर्दैनन्। त्यसैले त समस्या हुन्छ।

तपाईंका उपदेश अवलम्बन गर्ने चाहिँ कति छन् ?
मैले एक लाख व्यक्तिलाई दीक्षा दिएको छु। तीमध्ये करिब ९० प्रतिशत व्यक्ति शाकाहारी भइसकेका छन्। यत्रो समुदायलाई शाकाहारी बनाउनु साधारण कुरा होइन। यसले गर्दा उनीहरूको आर्थिक, सामाजिक र स्वास्थ्य जीवन सुध्रिएको छ। अब, अध्यात्म त तुरुन्तै हुने कुरा होइन। ध्यान, योग गरिरहेका छन्। यसले उनीहरूको रिस, राग, मोह पनि कम गराउँदै लगेको छ।

तपाईंको लक्ष्य के हो ?
मुक्ति। अर्को जन्म लिनु नपरोस् र फेरि पनि यही शरीर लिएर पृथ्वीमा आउनु नपरोस् भन्ने चाहन्छु। रोग, शोक, सुख, सन्ताप सबै चिजबाट मुक्त हुन चाहन्छु। मेरो एउटै लक्ष्य छ– निर्वाण प्राप्त गर्ने।

जंगलभित्र बसेर ध्यान गर्नुहुन्छ। नाच्नुहुन्छ, उफ्रिनुहुन्छ, रुनुहुन्छ, हाँस्नुहुन्छ। कतिले त मूर्ख ठान्दा हुन् तपाईंहरूलाई।
ठानून्। हामीलाई केही फरक पर्दैन। त्यस्तो ठान्नेप्रति दया लाग्छ, करुणा जाग्छ बरु। बिचराहरूले राम्रो गुरु नपाएकाले त्यस्तो ठानेका हुन्। उनीहरू न पढ्छन्, न बुझ्ने प्रयास गर्छन्। हामीलाई मूर्खमात्रै होइन, अनेक भन्छन्। ओशोलाई नै कतिले सेक्स गुरु भने। उहाँप्रति दुराग्रह राख्नेहरूले भनेका कुरा हुन् यी। यस्तो भन्नेहरूले ओशोका सात सयमध्ये एउटामात्रै पुस्तक पनि बिनापूर्वाग्रह पढे भने उनीहरू ओशोका भक्त हुन्छन्।


Share this Post:

Related Posts: