Article in Nagarik daily about Osho’s book release by the superstar Rajesh Hamal तपोवनमा लोभिए राजेश हमाल

Article in Nagarik daily about Osho’s book release by the superstar Rajesh Hamal तपोवनमा लोभिए राजेश हमाल

काठमाडौं, फागुन २४ (नागरिक) – व्यस्त दिनचर्याबाट फुत्किएर अभिनेता राजेश हमाल मंगलबार नागार्जुनस्थित ओशो तपोवन पुगे। फिल्मी कामकाजलाई थाँती राख्दै स्वामी आनन्द अरुणको निमन्त्रणामा मंगलबार तपोवन पुगेका हमालले ओशोको पुस्तक ‘प्रिस्ट एन्ड पोलिटिसियन्स, माफिया अफ दी सोल’को विमोचन गरे। र, ओशोका पुस्तकप्रति अभिरुचि देखाउँदै केही खरिद गर्नसमेत अघि सरे।


‘धेरै दिनदेखि आउन चाहेको थिएँ, आज बल्ल मौका मिल्यो,’ तपोवन परिसर घुमेपछि हमालले भने, ‘यहाँ आउँदा अर्कै खालको शान्तिको अनुभूति हुन्छ।’ उनले आफ्नो आध्यात्मिक रुचिलाई तपोवनको वातावरणले अझै बलियो बनाएको ठाने।


उनले त्यहाँको वातावरण, स्वामी आनन्द अरुणसँगको निकटता, पुस्तकको विविधता र भोजनको समेत प्रशंसा गरे। दिउँसोको खाना तपोवनमै खाएका हमालले भने, ‘यहाँको भोजनले कृष्णप्रसाद भट्टराईलाई त मोहित तुल्याएको रहेछ। प्रधानमन्त्री हुँदा उहाँकहाँ यहाँबाट खाना पुगेको समेत सुनेँ, म कसरी प्रशंसक नभई रहन सक्छु?’
उनले विद्यार्थी जीवनदेखि नै ओशो साहित्यबाट प्रभावित भएको खुलाए। उनले पुनास्थित ओशोको आश्रम पुगेको प्रसंग बताउँदा तपोवनका आशोप्रेमीले ध्यानपूर्वक सुने। एउटा धर्मसँग मात्र नजोडिई राम्रा र ज्ञानवर्द्धक कुरा जोसँग लिनपनि सकिने आशोको खुला विचारधाराले आकर्षित गरेको उनले चर्चा गरे। ‘ओशोले अध्यात्मकालागि जीवन समर्पण गर्नेलाई मात्र होइन, जीवन सहज तुल्याउन अध्यात्म अपनाउनेलाई पनि ठाउँ दिनुभएको छ। मानिसको व्यवहारिक पाटोलाई सम्बोधन गरेर सहजताका साथ जिउन सिकाउने आशो दर्शन मलाई मनपर्छ।’


शारीरिक सुगठनमा निकै सचेत हमालले मानसिक शान्तिका लागि ‘मेडिटेसन’ गर्ने गरेको पनि खुलाए। ‘ध्यानले संसारिक जीवन सहज बनाउँछ। कामलाई दिगो र योजनाबद्ध बनाउन सघाउँछ,’ आध्यात्मिक गुरु जसरी नै पोखिए उनी, ‘ध्यान हरेक पेशामा लागेकालाई आवश्यक छ। कला जस्तो सिर्जनसिल काममा अझै धेरै। आत्मा पहिचान र बाहिरी संसारसँग डिल गर्न उत्तिकै उपयोगी छ।’


कृष्णप्रसाद भट्टराईकी सहयोगी अमिता कपालीको नाम उनले धेरै पटक सुनेका रहेछन्। तपोवनकै कार्यक्रममा उनीसँग गफिन पाउँदा निकै रमाइलो लागेको बताए। ‘हरेक कुरालाई सहज रुपमा लिने उहाँले व्यक्तित्व प्रशंसा गर्न योग्य लाग्यो,’ उनले भने। शिवपुरी बाबाको मन्दिर घुमेपछि उनको बारेमा थप जानकारी बटुल्न लालायित देखिए हमाल। यसकालागि उनले शिवपुरी बाबाको बारेमा जानकारी दिने पुस्तक ‘लङ पिलग्रिमेज’ किने।


‘१३७ वर्ष बाँचेको व्यक्तिको जीवन जान्न म साह्रै उत्सुक भएँ, अब पढिहाल्ने पुस्तकको सूचीमा पर्छ यो,’ पुस्तकप्रेमी हिरोले बताए।
यसअघि अभिनेत्री मनीषा कोइरालासँग हतारमा तपोवन गएका हमालले यसपटक बाहिरिन हतारिएनन्। चार घण्टाभन्दा बढी समय त्यहाँ बिताउँदा उनले ओशोको समाधिमा ध्यान गरे, शशिविक्रम थापाको भक्ति संगीत सुने र विद्यार्थी जीवन बिताएको देश (रुस)का ओशो सन्यासीहरुसँग बातचित समेत गर्न भ्याए। कला र अध्यात्मको विषयमा स्वामी अरुणले दिएको प्रवचन घत मानेर सुने। ‘स्ट्रेस’को अनुभव हुने बित्तिकै शान्त हुन आउनुहोला’ अरुणको आग्रहप्रति कृतज्ञता व्यक्त गर्दै उनी फर्किए।


Share this Post:

Related Posts: