अध्यात्मबाट नेपाल धनी हुनसक्छ: स्वामी अरुण News Report in online edition of Kantipur daily

अध्यात्मबाट नेपाल धनी हुनसक्छ: स्वामी अरुण News Report in online edition of Kantipur daily

काठमाडौ, जेष्ठ ३० – काठमाण्डुस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले विश्वमा अध्यात्मप्रतिको चाहना बढिरहेको र आफुसँग रहेको आध्यात्मिक पुँजीको सही ‘मार्केटिङ’ गर्न सकेमा नेपाल पनि केही दशकभित्रै धनी मुलुक बन्नसक्ने बताए ।मंगलबार बेलुकी बेलायतको स्लाउमा आयोजित एक सत्संगमा बोल्दै स्वामी अरुणले ध्यान शिविरहरु आयोजना गर्ने क्रममा आफुले बर्षेनी दर्जनौं मुलुकहरुको भ्रमण गर्ने गरेको र त्यहाँ मानिसहरुमा योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा ध्यान पद्धतिहरुबारे ठूलो जिज्ञासा रहेका पाएको बताए ।

“हामीले यी विधाहरुको प्याकेजिङ गरेर विश्व मानचित्रमा नेपाललाई चिनाउनसके प्रशस्त विदेशी मुद्रा कमाउनुकासाथै रोजगारीको पनि सिर्जना गर्न सक्छौं,” स्वामी अरुणले भने । विश्वका विभिन्न असी मुलुकबाट विदेशीहरु ध्यान सिक्न तपोवन आइरहेका र ती मध्ये रुस, अमेरिका, फ्रान्स र जर्मनीबाट आउने साधकहरुको संख्या बढी रहेको पनि उनले जानकारी दिए।

उपनिषदसँग तुलना गर्न मिल्ने संसारमा कुनै साहित्य नभएको बताउँदै स्वामी अरुणले भने, “तर नेपालीहरु आफुसंग भएको सम्पदाको महत्व नबुझेर र त्यसको सदुपयोग गर्न नसकेर गरीबीमा बाँच्न वाध्य भएका छन्।” गरीबी नै सबै समस्याको जड हो भन्नुहुँदै स्वामी अरुणले जलस्रोत र पर्यटनसँगै अध्यात्मको प्रचारप्रसार गरेर नेपाललाई समृद्ध तुल्याउनेतर्फ सबैले प्रयास गर्नुपर्ने धारणा व्यक्त गरे ।

एकप्रश्नको जवाफमा स्वामी अरुणले दिनहुँ पन्ध्र मिनट योग, पन्ध्र मिनट प्राणायाम र आधा घन्टा ध्यान गर्ने बानी बसाल्नाले जीवनमा आमूल परिवर्तन आउने सुझाव दिए । “खासगरी पश्चिमा मुलुकहरुमा सर्वसाधारण मानिसहरुलाई पनि थुप्रै भौतिक सुविधा उपलब्ध छन् तर उनीहरु राम्रोसँग निदाउन पनि सक्दैनन्। परिवारमा कलह, काममा तनाव र विषादमा लाखौं मानिसहरु बांचिरहेका छन् र धनी मुलुकहरुमा नै आत्महत्या गर्ने मानिसहरुको संख्या बढीरहेको छ। यी सबै समस्यको एकमात्र उपाय ध्यानको माध्यमबाट जीवन शैलीमा परिवर्तन ल्याउनु र  सुखी एवम् सन्तुलित जीवन जीउने प्रयास गर्नु नै हो,” उनले भने ।

सोही कार्यक्रममा बोल्दै बेलायतका लागि नेपाली राजदूत डा सुरेशचन्द्र चालिसेले भौतिक सुखसुविधासंगै मानिसले ध्यात्मको पनि अभ्यास गर्नुपर्ने र त्यसबाट मात्र सुखी जीवन बिताउन सकिने बताए । उनले पश्चिमा देशहरुमा मानिसहरुमा योग र ध्यानप्रति रुची बढदै गएकाले पूर्वीय मुलुकहरुले आफुसंग रहेको ज्ञान बांडेर संसारमा व्याप्त हिंसा र तनाव कम गर्न योगदान दिनुपर्ने सुझाव दिए ।

ओशो क्याम्प युकेद्वारा आयोजित उक्त सत्संगमा स्लाउस्थित एज एसिया रेष्टुरेण्टकी संचालिका मां अमृताले सबैलाई धन्यवाद दिए ।

झण्डै दुईसातासम्म वेल्स तथा लण्डनका विभिन्न स्थानहरुमा ध्यान शिविरहरु सन्चालन गरेपछि स्वामी अरुण बुधबार नेपाल फर्केका छन् । आउँदो जुलाईमा उनले अमेरिकाका विभिन्न शहरहरुमा ध्यान शिविर सन्चालन गर्ने कार्यक्रम रहको आयोजकहरुले जनाएका छन्।

प्रकाशित मिति: २०७० जेष्ठ ३० ०९:०४


Share this Post:

Related Posts: