ग्यालरीमा सुपरस्टार र स्वामीजी Sw ji visit to Art Gallery, Coverage in Nagarik Daily

Read the online version [Here]

ग्यालरीमा सुपरस्टार र स्वामीजी

 

”"

सुशील पोखरेल – नेपाली फिल्म परिवर्तनको मोडमा उभिएको छ। भनौं मुलुक संक्रमणकालको अन्योलमा परेझैं नेपाली फिल्म क्षेत्र अलमलिएको छ- आफ्नो भविष्यबारे। नेपाली फिल्मका एकमात्र सुपरस्टार राजेश हमालको स्टारडमले दुई दशक पार गर्न लागेको छ। अहिले उनी फिल्ममा त्यतिसारो व्यस्त छैनन्। दुई दशक ‘लाइट, साउन्ड, कट, टेक र प्याकअप’मा बिताएपछि उनी अहिले फिल्ममा आफ्नो भूमिकाबारे चिन्तनमनन गर्दैछन्- अबको बाटो के?

संसारै मुठ्ठीमा कसौंलाजस्तै गरी दगुर्ने र घरिघरि जाममा पर्ने काठमाडौंलाई बिर्सेर नागार्जुनको ओशो तपोवनमा अध्यात्म चिन्तन गर्छन् स्वामी आनन्द अरुण। कृत्रिम बोलीव्यवहारको आवरणले लिपिएको कोलाहलमय काठमाडौंमा धेरै बेर बस्दासमेत निसास्सिन्छन् उनी।
सुपरस्टार राजेश र आध्यात्मिक गुरु स्वामी आनन्द सोमबार ज्ञानेश्वरमा सबै बिर्सेर करिब दुई घन्टा क्यानभासमा ध्यानमग्न भए। चित्रकार प्रकाश चाँदवाडकरको ज्ञानेश्वरस्थित ग्यालरी आफैंमा एक खुला क्यानभास हो। मूल सडकका विविध रंग प्रष्ट देखिने तर सडक वातावरणका छिटा नपर्ने, बिलकुल पृथक। उनको क्यानभास/ग्यालरीबाट तपाईं बाहिर सडकका वास्तविक चित्र पनि हेर्न सक्नुहुन्छ र भित्र उनले जीवनका रंग भरेका चित्र पनि। क्यानभासमा रंगको बीऊ रोपेर चित्र-बाली काट्ने प्रकाश ती बडेमानका क्यानभाससामु ध्यानमा बसेका बालकजस्तै लाग्छन्।
भारतको मुम्बईस्थित जेजे आर्ट कलेजमा चित्रकला अध्ययन गरेका प्रकाश रंगसँग खेल्दा फागुमा रंग खेलेजत्तिकै आनन्दित हुन्छन्। राजेश चरित्रमा, स्वामी आनन्द प्रकृतिमा र प्रकाश रंगमा एकाकार हुने प्रयास गर्छन्। कृष्ण वर्णका प्रकाश विविध रंग खेलाउँछन्- कालो, सेतो, रातो, नीलो, सुन्तलालगायत। उनी चित्रसँग रंगबाट सम्वाद गर्छन्, रिसाउँछन् र कुनैबेला फकाउँछन् पनि।
महानायक राजेश र स्वामी आनन्दलाई त्यस दिन प्रकाशको ग्यालरीमा ल्याइपुर्यााएको थियो- ध्यानमग्न बुद्धका ‘लार्जर देन लाइफ’जस्ता ‘कुल’ र ‘रेडिएन्ट’ चित्रहरूले। राजेशभन्दा पहिले आइपुगेका स्वामी आनन्दले ओशोको चित्रकारिताबारे बताए। चित्रकारको चिया खाने प्रस्ताव सहर्ष स्विकारेका स्वामी अरुणले भने, ‘मिठो चिया खुवाउनु भयो, दिनभरि सय कप चिया खाँदा एक/दुई कपमात्र मिठो चिया खान पाइन्छ।’ राजेश आइपुगेपछि उनले प्रकाशको चित्र बनाउने ठाउँको प्रशंसा गरे, ‘ओ! यो त ग्यालरी नै पो भेटेछौ त तिमीले, प्रकाश।’ प्रकाश राजेशका निकै ‘जिगरी दोस्त’ हुन्, पछिल्ला केही वर्षयता।

पालो आयो प्रकाशका क्यानभास र चित्रको। प्रकाश आफ्ना बुद्ध सिरिजका चित्रमा पिपलका सुनौला, नीला, राता, पहेंला पातको समेत प्रयोग गर्छन्। ठूला क्यानभासमा उनी विविध रंगमा बुद्धका मुहार बनाउँछन्। स्वामी आनन्दले ओशो र चित्रकलाको सम्बन्ध केलाए, ‘ओशोले जीवनको पछिल्लो समय छ सयभन्दा बढी चित्र बनाएका छन्, ती चित्रले दर्शकलाई ध्यानतर्फ डोर्याेउँछन्।’
कालोमा अलिअलि सेतो रंगसहितका ‘एनर्जी स्ट्रोक’बीच आध्यात्मिक एनर्जी रेडिएट गरिरहेको बुद्धमुहारयुक्त चित्र ध्यानपूर्वक नियालेका स्वामी आनन्दले ओशोका आश्रम एकपल्ट घुम्न आएका किटारो, प्रेम जोसुआ, ट्युडरजस्ता धेरै संगीतकार, चित्रकारलगायत कलाकार त्यहीं बसेको बताए। राजेशले सोधिखोजी गरे, ‘पहिले नै तय हुन्छ के बनाउने भनेर?’ जवाफमा प्रकाशले भने, ‘हुँदैन। चित्र बनाउँदा म एउटा फ्लोमा हुन्छु। कुचीका स्ट्रोक क्यानभासमा पर्न थालेपछि क्यानभासले मबाट आफैं चित्र बनाउन लगाउँछ। म केवल क्यानभासमा रंग पोत्ने माध्यममात्र बन्छु।’
काठमाडौं आउनुअघि एब्स्ट्र्याक्ट चित्रमात्र कोर्ने प्रकाश अहिले कमैमात्र एब्स्ट्र्याक्ट पोत्छन् क्यानभासमा। यहाँको जनजीवन र आध्यात्मिक वातावरण बुझ्नै दुई वर्ष लाग्यो उनलाई। त्यसपछि भने उनी यतै रमाए, यहींका मन्दिरमा वास लिएका भगवानका प्रतिरूपसँग घुलमिल भएर मराठा प्रकाश यतै अलमलिएको पनि १५ वर्षभन्दा बढी भैसक्यो।
प्रायशः सञ्चारमाध्यममा पत्रकारको जिज्ञासा मेटाउने गरेका महानायक त्यसदिन चित्र हेर्दै चित्रकारमाथि प्रश्न वर्षा गरिरहेका थिए। भनौं राजेश र स्वामी आनन्दले अनौपचारिक अन्तर्वार्ता लिइरहेका थिए चित्रकारसँग। उत्तम चित्र ठम्याउनसक्ने सौन्दर्यचेत भएका दुवैको सोधाइमा केही जिज्ञासा र अलि बढी चित्रकलाप्रति रुझान र ज्ञान थियो।

प्रकाशका क्यानभास र चित्र सामान्य आकारका हुँदैनन् प्रायः। सामान्य उचाइका उनी आफू फुच्चे देखिने ठूला क्यानभासमा रंगमा चोपिएको कुचीबाट बुद्ध र गणेशलाई आकार दिन्छन्। अनि ज्ञान, क्षमा, करुणा र प्रेम ओतप्रोत शान्ति ‘रेडिएट’ हुने बुद्धमुहार साकार पार्छन् क्यानभासमा। सुन्तला रंगको क्यानभासमा नीलो रंगमा चित्रित बुद्धमुहारले प्रेमपूर्ण शान्तिको गहिरो तरंग प्रवाह गर्छ। राजेशको स्वाभाविक जिज्ञासा थियो, ‘चित्र तयार पार्न कति समय लाग्यो?’ प्रकाशले उत्तर दिए, ‘आठ दिन।’ स्वामी आनन्दले सोधे, ‘चित्रको मूल्य कति पर्ला?’ प्रकाशको सिधा उत्तर दिए, ‘नेपालीका लागि १० लाख भारतमा बेच्नु परे ३० लाख। दिस इज वन अफ माइ मास्टरपिस। कति पेन्टिङ चित्रकारले बेच्दैनन्।’ राजेशले तुरुन्तै अर्को प्रश्न तेर्स्याए, ‘मास्टरपिस कसले निर्धारण गर्छ? चित्रकार कि दर्शक?’ प्रकाशले भने, ‘कुनै पेन्टिङ हेर्नेबित्तिकै थाहा हुन्छ मास्टरपिस हो कि होइन। चित्रकार आफैंलाई र दर्शकलाई पनि।’ मास्टरपिसलाई मौलिकता, रंग संयोजन, भावना र पेन्टिङको गहिराइसँग जोड्छन् प्रकाश।
पञ्चबुद्ध सिरिज अन्तर्गत रातो र कालो पृष्ठभूमिमा विभिन्न रंगका पिपलका पातसमेत प्रयोग गरिएको चित्रमा राम्ररी नियालेपछि मन्त्रमुग्ध राजेश भन्छन्, ‘पेन्टिङ पनि एउटा मेडिटेसन प्रक्रिया नै हो।’ बौद्धतन्त्र अन्तर्गतका चित्र अवलोकनसँगै बातचित पनि जारी छ। स्वामी आनन्दले सोधे, ‘तपाई र तपाईका चित्रबारे ग्राहकले कसरी थाहा पाउँछन्?’ प्रकाशले उत्तर दिए, ‘ग्यालरीलाई थाहा हुन्छ। पारखी ग्राहकले जसरी भए पनि खोजिहाल्छ।’
ठूलो क्यानभास तर झ्याल वा खोपीमा बसेकाजस्ता र फरक बान्कीका बुद्ध चित्र देख्नासाथ राजेशले आफूलाई रोक्न सकेनन् भनिहाले, ‘यो त पेन्टिङजस्तो लागेन मेरा नजरमा। बुद्धको अनुहार पनि फरक देखिन्छ।’ प्रकाशले त्यो पोस्टकार्ड प्रविधि भएको बताए। बुद्धका मुहार ठाउँअनुसार संसारभरि फरकफरक चित्रित गरिएका छन्। नेपालमा शाक्यमुनि बुद्धको मुहार प्रसिद्ध छ। बुद्धका मुहारमध्ये श्रीलंकामा चित्रण गरिने बुद्ध मुहार सुन्दर छ, चिटिक्क बान्की मिलेको। सही थापे स्वामी आनन्दले, ‘हो, त्यहाँका बुद्ध सुन्दर छन्।’ चित्र बिक्ने/नबिक्ने जिज्ञासा राखेका राजेशलाई प्रकाशले भने, ‘सधैं कहाँ बिक्छ र! दुई वर्ष भयो एउटा पनि चित्र बेचेको छैन मैले।’
प्रकाशका गणेश सिरिजका चित्रसमेत उत्तिकै जीवन्त छन्। गणेशको चित्रमा सुँडले ‘मुभमेन्ट’ दिन्छ भन्छन् उनी। भारतका कुनै पनि मन्दिरमा भक्तले सोझै भगवानका मूर्ति छुन पाउँदैन। त्यसैले ती मन्दिरका मूर्ति सग्ला तर निर्जीव हुन्छन् रंगविहीन, जीवनका भाव व्यक्त गर्ने रातो, नीलो, हरियो, पहेंलो कुनै रंग नभएका। त्यहाँ भक्त र भगवानबीच पुजारीले मध्यस्थता गर्छ। तर यहाँ त्यस्तो छैन, भगवान र भक्तबीच सिधा सम्बन्ध गाँसिन्छ। भगवानलाई भक्तले शिरदेखि पाउसम्म अबीर, केसरी, जल, अर्ध्य, दूबो, फूल श्रद्धापूर्वक चढाउँछन्। भगवानलाई छोएर पूजा गर्छन्। त्यसैले यहाँका गल्लीगल्लीमा, चोकचोकमा स्थापित भगवानका मूर्ति जीवन्त लाग्छन् उनलाई। जीवनका सबै रंगले परिपूर्ण, जनजीवन चित्रमय लाग्छ उनलाई। यसले नेपालीको जीवन प्रकृतिनजिक भएको अनुभूति गर्छन् उनी।
जेजे कलेजमा फाइन आर्ट पढ्दा उनको चित्र हेरेपछि ओशोले पुना आश्रममा सँगै बस्न दुईपल्ट बोलाएको सम्झन्छन् प्रकाश। उनलाई दुःख लाग्छ, अध्ययनरत भएकाले उनी ओशोको सान्निध्यमा बस्न पाएनन्। स्वामी आनन्दले बताए, ‘एक जापानी चित्रकार माँ मिरा आनन्द ओशोको निधन नहुन्जेल ३० वर्ष पुना आश्रममा बसिन्।’ क्यानभासमा प्रकाशले उतारेका चित्रका गणेशले दर्शन गर्नेलाई सुँड उठाएर अहिले आशिर्वाद देलान्जस्तो लाग्छ। गणेशका हुन् वा बुद्धका वा अन्य कुनै चित्रमा उनको वर्षौंको साधना, रंगसंयोजनबाट उत्पन्न हुने भावमाथिको नियन्त्रण, मिहिन मेहनत र अनुभवबाट खारिएको कौशल प्रष्ट महसुस हुन्छ।