Sw Anand Arun’s Interview in Karobar Dainik, National Daily Newspaper- हामी जे छौं त्यसैमा रमाउन सक्नुपर्छ

Interesting full page interview of Sw. Anand Arun published in Karobar Dainik, 17 Aug 20112. The reporter states that Swami Arun is not only a great spiritual orator but a very intelligent economist.
Read the interview in Karobar Dainik online

प्रस्तुति: प्रकटकुमार शिशिर

मिति: 2012-08-17

सम्बन्ध: अन्तरवार्ता

Name
स्वामी आनन्द अरुण

काठमाडौं बालाजु नजिकै रहेको ओशो तपोवन आध्यात्मिक चिन्तन र ध्यानका लागि चर्चित छ । यसका प्रमुख आनन्द अरुण आध्यात्मिक र ध्यानमात्र होइन अर्थतन्त्रका विषयमा अर्थशास्त्री जस्तो विचार राख्न पोख्त मानिन्छन् । कुराकानीका क्रममा पटक–पटक अरुणले मानिस धनी र सम्पन्न नभई आध्यात्मिक चिन्तन गर्न नसक्ने बताए । इन्जिनियर पेसामा लामो समय बिताएर आध्यात्मिक जीवनमा प्रवेश गरेका अरुण कन्स्ट्रक्सन कम्पनीका अध्यक्ष पनि छन । आध्यात्मिक चिन्तनमा लागिपरेका अरुण ओशो प्रवचनकै सिलिसिलामा दुई दर्जन मुलुक पुगिसकेका छन् ।
भारतमा ओशो रजनिशलाई भेटेपछि प्रभावित भई ओशो भक्त भएको बताउने अरुणको भौतिक विकास र आध्यात्मिक विकास सँगसँगै हुनुपर्छ भन्ने मान्यता छ । विज्ञान प्रविधि र अध्यात्मबीचको सम्बन्धसहित पूर्वीय र पश्चिमा मुलुकको अवस्था तथा उनको जीवन आयामका विषयमा ओशो तपोवनमा कार्यकारी सम्पादक विजय घिमिरे र संवाददाता प्रकटकुमार शिशिरले गरेको अन्तर्वार्ताको सम्पादित अंश :

इन्जिनियर पेसाबाट यो क्षेत्रमा कसरी आउनुभयो ?
म सानैदेखि अध्यात्म खोजमा हुन्थें । गुरुहरूको पछाडि लाग्थें । आश्रम जान्थें । त्यस्तै किताब पढ्थें । कलेज लाइफ पनि त्यस्तै भयो । बाध्यतावश पेसा गर्नुप¥यो, तर मलाई भित्रैदेखि जोगी बनौं अध्यात्म गरौं भन्ने थियो । बाबुआमाको पैसामा हुर्किएपछि उहाँहरूले गर्न भनेको काम गर्न बाध्यता थियो । जब आर्थिक स्वतन्त्रता भयो अनि मैले अध्यात्मतिर समय दिन थालें । मेरो अहिले पनि कम्पनी छ, बीडीएको अध्यक्षका रूपमा छु । काम गरेको भए बैंकमा पैसा जम्मा हुन्थ्यो होला, तर क्वालिटी लाइफ हुँदैनथ्यो । त्यसैले अध्यात्ममा फुल टाइम लागेको हो ।

त्यो जीवनबाट यो जीवनमा आउँदा कस्तो लाग्यो त ?

अहिले खुब आन्नद छ । संसारको सबैभन्दा खुसी मान्छेमध्ये म एक हुँ । म विदेश जाँदा कसैलाई भेट्दा आफूभन्दा सुखी मान्छे म भेट्दिनँ । म धेरैलाई समस्यामा देख्छु । समस्या किन छ भने तिनीहरू केही चाहन्छन् । मलाई केही चाहिँदैन । मेरो आवश्यकताहरू घटेका हुनाले म धेरै सुखी छु ।

त्यसो भने मान्छेहरू सुखी त आवश्यकता घटाएपछि हुँदा रहेछन ?
आवश्यकता घटाएर त हुँदैन । मानिसमा दुई स्वभाव हुन्छ । एउटा हुनु (बिइङ्ग) र अर्काे बन्न खोज्नु (बिकमिङ्ग) । संसार अहिले बन्न खोजिरहेको छ । यदि तपाईं पत्रिकाको सहसम्पादक हुनुहुन्छ भने सम्पादक बन्न खोज्नुहुन्छ । मन्त्री प्रधानमन्त्री हुन खोजिरहेका छन् । धनी अझ धनी बन्न खोजिरहेका छन् । हुन खोज्नेमा हाम्रो ध्याउन्न हुँदा भएकोमा हामीले कहिल्यै आनन्द लिन सक्दैनौं । कुनै दिन अहिले भएको स्टाटस पनि हाम्रो बिकमिङ थियो । अहिले एचिभ गरियो भने अहिले रमाउनुपर्ने होइन र ? अध्यात्मले यही कुरा सिकाउँछ कि जे हामी छौं त्यसैमा रमाउन सक्नुपर्छ ।

ध्यान भनेको के हो ?
ध्यान भनेको जे छ, त्यसमा रमाएर सन्तोष लिने कला हो । आधा घण्टा बिहान परमेश्वरले जे दिनुभएको छ त्यो कुरामा रमाउनुभयो भने अर्थात् बिकमिङ्गबाट बिइङ्गमा रिल्याक्स गर्नुभयो भने त्यो नै ध्यान हो । ध्यान अब विकल्प रहेन, ध्यान योगी, जोगीले मात्र गर्ने कुरा भएन, स्वस्थ्य जीवनका लागि हरेकले गर्नु आवश्यक छ । मानसिक तनाव, पागलपनको लक्षण देखिएको छ । यी सब ध्यानको अभावले गर्दा हो । विकसित मुलुकमा किशोरहरूमा तनाव बढिरहेको छ । ज्यान लिने क्रम बढिरहेको छ । विकसित मुलुकमा पैसा कमाउन, घर बनाउने, तर केका लागि बाँच्ने ? त्यसको उत्तर छैन ।

तपाईंले ओशोलाई नै किन रोज्नुभयो ?
उहाँको टिचिङ धेरै राम्रो र वैज्ञानिक थियो । ओशोजत्तिकै कन्सियसमा माथि पुगेको गुरु अहिलेसम्म मैले देखेको छैन । तीन जनाको चेतनाले मलाई प्रभावित बनाएको छ । एउटा मलाई शिव भगवान् । जसले ध्यानको मार्ग खोल्नुभयो । ध्यानको आदिगुरु पनि हुनुहुन्छ शिव । शिवले जहाँ–जहाँ टेक्नुभयो त्यहाँ–त्यहाँ तीर्थाटन भयो । उहाँले जहिले पनि असल प्रेमी भएर आफ्नो प्रेमिकालाई नै विवाह गर्नुभयो । त्यसपछि म कृष्णलाई देख्छु । कृष्ण राजा पनि हुनुहुथ्यो, जोगी पनि बन्नुभयो । युद्ध पनि गराउनुभयो । शान्तिको सन्देश पनि लिएर जानुभयो । उहाँका १६ हजार प्रेमिका पनि थिए । उहाँका प्रेमिकाले अध्यात्ममा कुनै बाधा भएको पनि देखिएन । उहाँ पूर्ण पुरुष हुनुहुन्थ्यो । उहाँसँग सबै विधा थिए । त्यस्तै त्यस्तो गुण म ओशोमा देख्छु, जसमा कुनै कुराको विरोध छैन । सम्पन्नतामा बाँच्नुभयो । अध्यात्मको उच्च प्रशिक्षण दिनुभएको छ । अहिले शिव र कृष्ण हुनुहुन्न, मैले ओशोलाई भेटेर प्रभावित भएपछि मेरो तन मन धन उहाँप्रति समर्पित गर्नुपर्छ भन्ने भावना जागृत भयो र यो ओशो युग भएकाले म ओशोका पछाडि लागे ।
धन सम्पत्तिलाई हामीले भौतिक भन्छौं, ध्यानलाई हामीले आध्यात्मिक भन्छौं, यो दुई कुराबीच केही सम्बन्ध छ ?
एकदम अन्तरसम्बन्ध छ । कति टाढा रहेको तारा र हामीबीच त सम्बन्ध छ भने यी दुई कुराबीच सम्बन्ध नहुने कुरा भएन । धन–सम्पत्ति कमाउन पनि त ध्यान, प्रतिभा, चेतना, जाँगर, लगाव चाहिन्छ । त्यसैले पैसा कमाउने पनि एक प्रकारको ध्यान हो । ध्यान गर्नै पनि उत्तिकै र उस्तै मेहनतको आवश्यक छ । आध्यात्मिक चिन्तन प्राप्त गर्ने पनि भौतिक सुविधा पाउनुभन्दा गा¥हो छ ।
पैसाले सुविधा दिन सक्छ तर सन्तोष दिन सक्दैन । सुविधा र सुख फरक हुन् । त्यसैले पैसाले सुविधा जुटाउन सक्छ तर, सुख ल्याउन सक्दैन । सुविधामा पनि मान्छे दुःखी हुन सक्छ र असुविधामा पनि मान्छे सुखी हुन सक्छ । त्यसैले आर्ट अफ लिभिङसँग जीवन जिउनुपर्छ ।

के हो आर्ट अफ लिभिङ भनेको ?
हरेक व्यक्तिको भित्रैदेखिको चाहना र आध्यात्मिक खोज भनेको ऊ आनन्दित हुन चाहन्छ । हामी जे काम पनि आनन्द हुनलाई गर्छाैं । अरूलाई चोट नपु¥याइकन आफ्नो जीवन आनन्दसँग जिउने कला नै आर्ट अफ लिभिङ हो ।
भौतिक सुख–सुविधा नभएपछि आर्ट अफ लिभिङमा जानुपर्ने हो ?
आर्ट अफ लिभिङ त सबैलाई चाहिन्छ, तर के हो भने जबसम्म बाहिर असन्तोष हुँदैन तबसम्म मान्छे यसको खोज नै गर्दैन । तनाव नभएसम्म मान्छे यसको खोज नगर्ने भएकाले तनाव पनि चाहिँदो रहेछ । अधिकांश मान्छे त विवाह र यौनमै रमाइरहेको हुन्छ । त्यसैले असन्तोष भयो भने मात्र आर्ट अफ लिभिङ खोज्ने अवस्था आउँछ ।

यहाँ त पहिला इन्जिनियर हुनुहुन्थ्यो, त्यो पेसाबाट यो क्षेत्रमा आउँदा यहाँले पेसाप्रति उपेक्षा गरेजस्तो लाग्दैन ?
मलाई त्यस्तो लाग्दैन । बरु बढी नै समय पेसामा भएजस्तो लाग्छ । पेसाबाट छुट्टी नै लिएर अहिले फुल टाइम नै यसमा लागेको छु । मैले ३५ वर्ष पेसा गरे । फुल टाइम नै पेसा गरें र सँगसँगै अध्यात्म पनि गर्थें र पाँच वर्षदेखि पूरै समय अध्यात्म गरिराखेको छु । मलाई के लाग्छ भने यसमा जति सुख छ त्यो अरूमा हुँदैन । मैले यसमार्फत समाजलाई जति योगदान पु¥याएको छु त्यति अरू पेसाबाट पु¥याउन सक्दिनथें होला ।

कतिपय सफल र सामाजिक व्यक्तित्व बनाएपछि आध्यात्मतिर आउँछन् । के सबै कुरा पुगेपछि आउने क्षेत्र हो यो ?
हामीकहाँ के धारणा छ भने धर्म–कर्म गर्ने उमेर गएपछि हो । उमेरमा त खानु–लाउनुपर्छ, मोजमस्ती गर्नुपर्छ भन्ने धारणा छ । तर, यसमा म सहमत छैन । जसले जगत्मा ठूलो क्रान्तिकारी परिवर्तन गरेका छन् ती सबै युवाअवस्थामा गरेका छन् । बुद्धले पनि २९ वर्षको उमेरमा घर छोड्नुभयो, विवेकानन्दले पनि १८ वर्षको उमेरमा आफ्नो कर्म गर्नुभएको थियो । युवा अवस्थामा रगतमा शक्ति हुन्छ । ज्यानमा उत्साह हुन्छ । जाँगर हुन्छ, केही गर्ने जोस हुन्छ । आत्मविश्वास हुन्छ । त्यसैले हरेक राम्रो काम युवाअवस्थामा नै हुन्छ । चाहे कसैले किताब लेखोस् । चाहे कुनै सिर्जनशील काम गरेर चर्चामा आएको मान्छे होस्, ती प्रायः युवाअवस्थामा नै गरेको पाइन्छ ।

मानिसले सत्रौं शताब्दीमा कल्पना गरेको भौतिक सुख–सुविधा अहिले पाइरहेका छन्, त्योभन्दा अघिदेखि नै आध्यात्मिक कार्य हुन्थ्यो । अहिलेसम्म आइपुग्दा पनि यी कुरा समान रूपमा उठिरहेका छन् । अध्यात्म अझ अघि जाने अवस्था छैन र ?

हामी अब एउटा टर्निङ प्वाइन्टमा आइसकेका छौं । १७ देखि १९ औं शताब्दीमा मान्छेको परिकल्पना जे थियो, जस्तै– शिक्षा, स्वास्थ्य, खान लाउन पुग्यो भने मान्छेलाई सुखसुविधा हुन्छ भन्ने थियो । अझै पनि म जति पनि देशमा ध्यान र योगको माध्यमबाट पुगेको छु, ती सबै विकसित र सम्पन्न मुलुक हुन् । त्यहाँ स्वास्थ्य छ, कोही बिरामी भयो भने दुई मिनेटमा अस्पताल पु¥याउँछ । बिमा छ । सब थोक छ, तर पनि जीवन अझै दुखी छ । १७ औं शताब्दीमा जति मान्छे हाँस्थे, मुस्कुराउँथे जति राम्रोसँग सुत्थे अहिले त्यस्तो अवस्था छैन । साक्षरता बढे पनि, स्वास्थ्य राम्रो भए पनि, प्रतिव्यक्ति आम्दानी बढे पनि, रोड चिल्लो भए पनि मान्छेको जीवन त आनन्दित हुन सकिरहेको छैन । मान्छेको जीवन त झन् दुखी बन्दै गएको छ । त्यसैले पश्चिमा यो विषयमा सोच्न थालेका छन् । हामीकहाँ बरु कसरी बाँच्ने भन्ने मात्र सोच छ । तर पश्चिमाहरूमा आनन्दित कसरी हुने भन्ने सोच आउन थालिसकेको छ । त्यसैले क्वालिटी जीवन जिउनका लागि मान्छे अब आध्यात्मिक हुन थाल्छन् ।

विज्ञान र प्रविधिबिनाको अध्यात्म हुन सक्छ ?
सक्दैन, यस्तो भयो भने झन् हामी १४ औं शताब्दीतिर पुग्छौं । छिमेकी तिब्बतमा यस्तो अभ्यास भएको थियो तर त्यो चल्न सकेन । त्यहाँ गुम्बाहरू धेरै धनी भए । लामाको खाने प्लेट, थाल सबै सुनैसुनको हुन्थ्यो । उनीहरूलाई गाउँलेहरूले बोकेर हिँडाउँथे । उनीहरूको जीवन धनी बन्दै गएको थियो, तर समाज यति दरिद्र बन्दै गयो, यति गरिब बन्दै गयो कि त्यो समाज टिक्न सकेन । त्यसैले विज्ञान र प्रविधिबिना अध्यात्म टिक्न सक्दैन र अध्यात्मबिना विज्ञान र प्रविधि पनि टिक्दैन । यी दुवै परिपूरक छन् । यी दुवै समान भयो भने जीवन खुसी हुन्छ । हामीकहाँ अध्यात्म बढी छ । काठमाडौं मन्दिरैमन्दिरको सहर हो, तर अध्यात्मले मात्र पनि त खुसी दिएको छैन । पानी फोहर छ । लोडसेडिङ छ । अनेक समस्या छन् । त्यसैले अधिक आध्यात्मिकबाट हामी पनि ग्रसित भएका छौं । त्यसैले जति भौतिक विकास हुन्छ त्यति नै आध्यात्मिक विकास हुनुपर्छ र जति आध्यात्मिक विकास हुन्छ त्यति नै भौतिक विकास हुनुपर्छ ।

नेपालमा अहिले कस्तो अवस्था छ ?
नेपालमा त भौतिक विकासको अवस्था न्यूनतम छ । दक्षिण एसियामा हामी धेरै गरिब छौं । अफगानिस्तानमा त अझै युद्ध चलेको छ, त्यहाँको कुरा छोड्ने हो भने आर्थिक विकास हाम्रो भएकै छैन । यसले समस्या सिर्जना गरेको छ । भौतिक विकास भएको छैन भने अध्यात्मले पनि समस्या सिर्जना गर्छ । यस्तो अवस्थामा आशीर्वाद मात्र दिने आउँछन् ।

तपाईकहाँ धेरै थरी मानिस आउँछन् । व्यापारी, उद्योगी, नेता, पत्रकार हरेक वर्ग आउँछन्, उनीहरू के भन्छन्, कस्तो समस्या सुनाउँछन् ?
यहाँ आउने हरेक व्यक्तिको आ–आफ्नो कारण छ । यो प्रकृतिको रूपले पनि धेरै शान्त र मनमोहक ठाउँ छ । पर्यावरणको दृष्टिकोणले रमाउन पनि आउँछन् । एकथरी मान्छे प्रकृतिसँग रमाउन आउँछन् । अर्काेथरी मान्छे तनावबाट कसरी छुट्कारा पाउने भन्ने सोचले आउँछ । बाहिर जीवन तनावपूर्ण भइरहेको छ । लगभग विक्षिप्तको अवस्थामा पुगिसकेको पनि छ । एक्सपोजर भयो भने युद्ध पनि हुन्छ । त्यसैले शान्ति, आनन्दका लागि पनि यहाँ मान्छेहरू आउँछन् । बाहिर पूरा स्वार्थको संसार छ । मान्छे कुरा पाँच मिनेट तबमात्र गर्छ जब उसलाई केही लिनु छ । यहाँ त्यस्तो कुनै स्वार्थ छैन । व्यक्तिगत कुनै स्वार्थ छैन । यसो भयो भने त्यसो भयो भने फाइदा हुन्छ भन्ने हामीलाई छैन । हामीले एकअर्कालाई बिनास्वार्थ माया प्रेम गरिरहेका हुन्छौं ।

तपार्इंहरू अध्यात्मलाई बढी जोड दिनुहुन्छ, सबै मानिस यतातिरै आए भने विकासको पूर्वाधार, विकासका सूचकहरू ठप्प हुने त होइन ?
एकदम हुँदैन । खासमा स्वस्थ अध्यात्मक बढ्यो भने काम गर्ने जाँगर, जोस दिन्छ । ओशोले भनेजस्तै वैज्ञानिक अध्यात्म हुनुपर्छ । यो आशीर्वाद, प्रवचन मात्र दिने, अध्यात्मले हुँदैन । स्वस्थ्य र वैज्ञानिक अध्यात्मले आत्मविश्वास बढाउँछ । आफै गरेर देखाऊँ भनेर उत्साह देखाउँछ । त्यसैले यसरी अगाडि बढ्ने हो भने अध्यात्मसँगसँगै आर्थिक विकास पनि हुन्छ । जबसम्म हामी स्वस्थ्य हुँदैनौं, शान्त हुँदैनौं तबसम्म हामी सिर्जनशील हुँदैनौं । हामी सिर्जनशील हुन, जाँगर बढाउन, स्वस्थ्य हुन आध्यात्मिक हुन जरुरी छ । त्यसैले अध्यात्मले विकास पूर्वाधार ठप्प होइन कि विकास पूर्वाधार बढाउँछ ।

पश्चिममा हामी पूर्वीय दर्शन लगेर केही कमाउन सक्छौं । दर्शनसँगै हामीले पश्चिमालाई दिन सक्ने सामथ्र्य अरू के–के हुन सक्छ ?
पश्चिमाहरूलाई हामीले हाम्रो अध्यात्म दिएर कमाउन पनि सक्छौं, तर अहिले संसार ग्लोबल भिलेजका रूपमा आएको छ । राष्ट्रियताको नाराले मात्र पुग्दैन । आफ्नै देशको उत्पादन प्रयोग गरौं भने पनि सम्भव छैन । त्यसैले अरूबाट लिन सक्ने र हामीले दिन सक्ने के छ, त्यो हेर्नुपर्छ । अमेरिकामा अमेरिकी झन्डा चाइनाबाट आउँछ । हाम्रा हिन्दू देवीदेवताका पोस्टर, मूर्ति चाइनाले बनाएर बेचिरहेको छ । त्यसैले हामीले के दिन सक्छौं त्यो दिन सक्नुपर्छ । हाम्रा प्राकृतिक सौन्दर्य, हाम्रा जडिबुटी, यहाँको अन्य प्राकृतिक स्रोत–साधनमार्फत हामीले धेरै कमाउन सक्छौं । सानो हङकङ टापुले ४ करोडको लक्ष्य लिएकोमा ५ करोड पर्यटक भिœयाएको छ । हामीले १० लाख लक्ष्य लिँदा पनि त्यो पूरा गर्न सकेनौं । १० लाख लक्ष्य लिनु ज्यादै क्षुद्र अवस्था हो । हामीले दीर्घकालीन योजना बनाउनुपर्छ ।

हामीले १० वर्षभित्र ३० लाख पर्यटक, ३ हजार मेगावाट बिजुली उत्पादन, ३ हजार डलर प्रतिव्यक्ति आय बनाउनुपर्छ र यो सम्भव पनि छ । यो लक्ष्य जसले लिन्छ त्यसलाई नै हामीले भोट दिनुपर्छ । अरूलाई बहिष्कार गर्नुपर्छ र राजनीति यसैका लागि हुनुपर्छ । अहिले हेर्नुस्, नेपालको अवस्था कस्तो छ । एयरपोर्ट र एयरलाइन्सबिनाको देश भएको छ । दुनियाँमा कहाँ छ यस्तो अवस्था ! अहिले भनिएको अन्तर्राष्ट्रिय विमानस्थल त डोमेस्टिक एयरपोर्ट हो । यस्तो अवस्थामा पनि टुरिस्ट आइराखेका छन् । जहाज किन्ने कुरा मैले २२ वर्षदेखि सुनेको छु । अझै त्यही विवादमा छौं हामी ।

हाम्रो नीति–निर्मातालाई किन यस्तो सोच आउँदैन ?
उहाँहरू यस्तो विषयमा गम्भीर नै हुनुहुँदैन । हामी जस्तो जंगलमा आएर ध्यान र अध्यात्म चिन्तन लिनुहुँदैन । यदि निःस्वार्थ ढङ्गले सोचेको भए केही हुन्थ्यो । उहाँको हरेक निर्णयमा स्वार्थ छ । मलाई के फाइदा होला । पार्टीलाई के फाइदा होला, यस्तै सोच्नुहुन्छ । हेर्नुस म विदेश जान्छु मेरो हृदय यति रुन्छ । त्यहाँ हरेक पटक जाँदा नयाँ–नयाँ प्रगति हुन्छ । नजिकै भारतलाई हेर्नुस्, त्यो पनि गरिब देश हो तर पनि त्यहाँ काम भइराखेको छ, विकास भइराखेको छ । नेपालमा फर्कर आउँदा पहिला बनेका पूर्वाधार भत्केको हुन्छ । एयरपोर्ट झन् जीर्ण बनेको पाउँछौं । हामी गरिब होइनौं । हामीलाई गरिब हुन बाध्य बनाएको छ ।
हाम्रो राजनीतिले राम्रो नेतृत्व भेट्टाएको छैन र जन्माएको पनि छैन । जस्तो चाइनाको पेन चाङ्ग पी नभएको भए चाइनाको अहिलेको विकास सम्भव थिएन । त्यस्तै नजिकको विहार हेर्नुस्, एक्लो नितिशकुमारले विहारलाई कस्तो बनाए । गुजरात हेर्नुस्, मोदीले बनाए । सिंगापुर पनि एकै व्यक्तिले बनाए । त्यस्तो एक व्यक्ति हामीकहाँ भएन या भनौं फस्टाउन दिइएन । त्यस्तो एक नेतृत्व भयो भने नेपाल १० वर्षमा बन्न सक्छ ।